काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई सबैभन्दा ठूलो जेन–जेड पुस्ताको विद्रोहको रूपमा व्याख्या गरेका छन्।
शुक्रबार संविधान दिवसको अवसरमा पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले जनयुद्धमा ९० प्रतिशत सहभागी जेन–जेड पुस्ताका रहेको दाबी गर्दै भने, “जतिबेला हामीले विद्रोह सुरु गरेका थियौं, त्यो बेलापनि ९० प्रतिशत भन्दा धेरै जेनजी पुस्ता नै थिए। त्यसैले सबैभन्दा ठूलो विद्रोह जेनजी विद्रोह त जनयुद्ध नै हो। कसैले यसलाई हो कि होइन भनेर दुविधामा नपरौं।”
कार्यक्रममा उनले पछिल्लो राजनीतिक संकटको समयमा संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउनेसम्मका योजना बनेको उल्लेख गर्दै ती प्रयासलाई नजिकबाट अवलोकन गर्ने मौका पाएको बताए।
उनले भने, “मैले संसद् विघटन गर्ने मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ। अन्तिममा रातभर संवाद गरेर अन्तरिम सरकार बनाएर भएपनि संविधान जोगाउनुपर्छ भनेर पहल गरेको हुँ।”
प्रचण्डले वर्तमान जेन–जेड पुस्ताले उठाइरहेका मागहरू आफूहरूले दस वर्षअघि नै उठाएको दाबी गर्दै भने, “त्यो बेला हाम्रो माग सुनेको भए अहिलेको जेन–जेड आन्दोलनको आवश्यकता नै पर्दैनथ्यो।”
संविधान दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो।