काठमाडौं, माघ २९
हमासले बन्धकहरुको
रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको
भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको हो ।
पूर्वसम्झौता
अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी
कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो । हमासले मुक्त गर्ने
व्यक्तिहरुको सूचीमा नेपाली विपिन जोशी पनि पर्ने अपेक्षा थियो ।
तर हमासले
बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ
समस्या खडा भएको बीबीसीले जनाएको छ । हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा
क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर
फर्किन ढिलो भइरहेको र मानवीय सहायता पुर्याउन बाधा पुर्याइरहेको आरोप लगाएको छ ।
हमासको
सैन्य शाखाका प्रवक्ता अबु उबैदाले भनेका छन्, ‘पछिल्लो तीन हप्तामा दुश्मन (इजरायल)ले
पटक–पटक युद्धविराम सम्झौता उल्लंघन गरिरहेको हाम्रो नेतृत्वले देखेको छ । उसले
सम्झौताका सर्त पालना गरिरहेको छैन । त्यसैले बन्धकहरुको रिहाइ अर्को सूचना
नआएसम्मका लागि स्थगित गरिएको छ ।’
इजरायल र
हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै
पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो ।