काठमाण्डौं, पौष २८
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८०र०८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षा लगायतका कामहरू अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवम् मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताए ।
‘मुद्दाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि पीडितले न्याय पाए नपाएको वा पीडितमैत्री भए नभएको विषय महत्त्वपूर्ण हुन्छ भन्ने म ठान्दछु,’ राष्ट्रपति पौडेलले भने, ‘त्यसैले कसुरदारलाई सजाय दिने तर्फमात्र होइन पीडितले क्षतिपूर्ति सहितको न्याय पाउने कुराको सुनिश्चितता प्रदान गर्ने विषय समेत महान्यायाधिवक्ताको जिम्मवारी हो ।’
उनले नेपालको संविधानको मौलिक हकमा अपराध पीडितको हक सुनिश्चित गरेको सन्दर्भमा त्यस्तो हकको रक्षाको लागि संविधानको प्रभावकारी कार्यान्वयन भए नभएको तर्फपनि महान्यायाधिवक्ताको कार्यालयले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।