जमेको पानीमा डुबेर ३ बालिकाको मृत्यु

Jhalkonepal

रौतहट- रौतहटमा खाल्टोमा जमेको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ। राजदेवी नगरपालिका–८, लक्ष्मीपुरका तीन बालिकाको आज बिहान डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मृत्यु हुनेमा १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया राघनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठा रहेका छन्। तीनै जना लक्ष्मीपुर टोलका स्थानीय बासिन्दा हुन्।

प्रहरीका अनुसार बालिकाहरू घाँस काट्नका लागि बिहानै लक्ष्मीपुरबाट गौर नगरपालिका–१, कानुपट्टीतर्फ गएका थिए। फर्किने क्रममा भित्री सडक खण्डमा रहेको पानीले भरिएको खाल्टो तर्दा तीन जना डुबेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र प्रहरी टोली स्थलगत अनुगमनमा खटिएको जानकारी प्रहरी निरीक्षक रामकुमार महतोले दिएका छन्।

सकुशल उद्धार हुनेहरूमा सोही लक्ष्मीपुर गाउँकी उमेश रामको १५ वर्षीया छोरी मुस्कानकुमारी राम, बिपत बैठाको छोरी १३ वर्षीया मुस्कानकुमारी बैठा, दिनेश रामको छोरी १० वर्षीया चन्द्रमुखीकुमारी राम र जोधन बैठाको १५ वर्षीया छोरी सुनिताकुमारी बैठा रहेका उनले जानकारी दिए ।


प्रतिक्रिया