नवरात्रको छैटौं दिनस् देवी कात्यायनीको पूजा गरिँदै

Jhalkonepal

काठमाडौं- बडा दशैंको छैटौं दिन आज देशभर हिन्दू धर्मावलम्बीहरूले नवरात्रमा देवी कात्यायनीको पूजा–आराधना गरिरहेका छन्। धार्मिक विश्वास अनुसार, आजको दिन कात्यायनीको पूजा गरे रोग, शोक, भय र दरिद्रताको नाश भई जीवनमा सफलता प्राप्त हुने विश्वास गरिन्छ।

शास्त्रीय कथन अनुसार, महर्षि कात्यायनको कठोर तपस्याबाट प्रसन्न भई आदिशक्तिले पुत्रीको रूपमा जन्म लिएपछि देवी ‘कात्यायनी’ नामले प्रसिद्ध भइन्। त्रिदेव ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी कात्यायनीले महिषासुरको वध गरेर धर्म र न्यायको स्थापना गरेको पुराणहरूमा उल्लेख छ।

कात्यायनी देवीलाई अदृश्य शक्तिको शासक तथा दिव्य रहस्यहरूको प्रतीक मानिन्छ। उनी क्रोधलाई सकारात्मक ऊर्जा बनाउने शक्तिशाली स्वरूपको रुपमा पनि वर्णन गरिन्छ। अन्याय र अज्ञानविरुद्ध उठ्ने बुद्धिमत्तायुक्त क्रोध उनको विशेषता हो।

पौराणिक कथाअनुसार, ऋषि कात्यायनको घरमा भगवतीले पुत्रीको रूपमा जन्म लिएर देवी कात्यायनी बनिन्। त्यसैले आजको दिनलाई देवीप्रति श्रद्धा, भक्ति र आत्मशुद्धिको प्रतीकका रूपमा मनाउने गरिन्छ।

प्रतिक्रिया