काठमाडौँ, माघ २०
आज सिमसार
क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने मूख्य उद्देश्यका साथ विश्व सिमसार दिवस मनाइँदैछ ।
‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’
नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ ।
तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका
लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन
गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको हो ।
संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक
वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन
समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्र्राष्ट्रिय महत्वको
सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।
संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र
ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको
संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस
मनाइने गरिएको छ । कुल एक सय ७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी
हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा
कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ ।
हाल
नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र
पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा तालको समूह रामसार सूचीमा समावेश छन् ।