काठमाडाैं , साउन १०
गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालका अनुसार आजदेखि अर्को व्यवस्था नभएसम्म हल्का सवारीसाधनबाहेक अन्य ठूला सवारीसाधन लैजान रोक लगाइएको छ ।
गत वर्ष राज्यको ठूलो लगानीबाट निर्माण भएको ग्याबिन पर्खाल मजबुत नभएकै कारण सडक मार्गमा क्षति भएको स्थानीयले बताएका छन् । पर्खालको ग्याबिन बक्सा पल्टिएपछि आसपासका बस्तीमा समेत जोखिम बढेको छ ।
सडकमा पानी जम्न नदिइ अन्यत्र निकास गर्ने, भित्तामा रहेको पानीलाई पाइपद्वारा अन्यत्र निकास दिने, नालीलाई निरन्तर सफा गराउने अन्यत्र स्थानबाट वैकल्पिक मार्ग खोल्ने जस्ता काम गर्न एक महिना अगाडि गरिएको अनुरोधलाई जिम्मेवार निकायले बेवास्ता गरेका कारण पासाङल्हामु मार्गमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
सडक मार्ग क्षति भएसँगै चीनबाट आयात भएका सवारीसाधन रसुवागढीमा रोकिएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार काठमाडौँका लागि चीनबाट आयात भएका एक सय ५० विभिन्न सामग्रीसहितका कन्टेनर सडकको अभावमा रसुवागढीमै रोकिएका छन् ।