काठमाडौं- राजधानीको मित्रनगरस्थित एक गेष्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गेष्ट हाउसका सञ्चालक ४२ वर्षीय विक्रम बजगाईंसमेत रहेका छन्।
झापा दमक नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा बसोबास गर्दै आएका बजगाईं सहितका व्यक्तिहरूलाई बिहीबार दिउँसो प्रहरीले रंगेहात पक्राउ गरेको हो।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद २० हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
१९ भदौ २०८२, शुक्रबार ०१:१० मा प्रकाशित