काठमाण्डौ, साउन २४
सङ्घीय संसद्अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका आज बैठक बस्दै छन् ।
आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय
सरोकार समिति, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्यव्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची रहेको
संसद् सचिवालयले जनाएको छ ।
अर्थसमितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा
नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने
कार्यक्रम छ ।
यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ ।
यसैगरी, राज्यव्यवस्था तथा सुशासन समितिको
बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको
विधेयकका सम्बन्धमा छलफल हुनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको
बैठकमा भने पुरातात्विक महत्वका सम्पदाहरूको
अवस्था र ग्यालरी बैठकभित्र रहेका पुरातात्त्विक वस्तुहरूको संरक्षण सम्बन्धमा
छलफल गर्ने कार्यसूची रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि
समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । सिंहदरबारमा बस्ने बैठकमा विद्यालय
शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल
गर्ने कार्यक्रम छ ।
यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय
सरोकार समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षा याममा डेंगु, हैजा लगायतका सरुवा रोग सङ्क्रमणको हालको अवस्था, सरुवा रोग नियन्त्रणको लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए
गरेका काम कारबाही, समस्या र भावी कार्ययोजना, समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा छलफल
गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।