दशैं–तिहारमा सस्तो खाद्यान्नका लागि मुगुमा उपभोक्ताको भीड

Jhalkonepal

मुगु- दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुगु शाखाले सहुलियत दरमा चामल, तेल र चिनी बिक्री गर्न थालेको छ। सस्तोमा खाद्यान्न पाइने खबरसँगै गमगढीस्थित शाखा कार्यालयमा उपभोक्ताको उल्लेखनीय भीड देखिएको छ।

गत सोमबारदेखि सुरु गरिएको यो अभियान छायाँनाथ रारा नगरपालिका, मुगु–कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी सञ्चालन गरिएको हो।

कम्पनीका सूचना अधिकारी मौसम माझीँका अनुसार, भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म विशेष चाडपर्व लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिनेछ।

यसअन्तर्गत श्रीकोट र सोरुकोट डिपोमा ४–४ सय क्विन्टल चामल तथा गमगढी बजारमा २ हजार क्विन्टल चामल, २ हजार लिटर तेल र २ हजार क्विन्टल चिनी बिक्री गरिने योजना छ।

चामलमा प्रति बोरामा १२५ रुपैयाँ र तेलमा प्रति लिटर ७ रुपैयाँ छुट दिइएको छ। हाल दैनिक ६० क्विन्टल चामल र ३ हजार लिटर तेल बिक्री भइरहेको कम्पनीले जनाएको छ।

बजार मूल्यभन्दा सस्तोमा अत्यावश्यक खाद्यान्न पाइने भएपछि उपभोक्ता उत्साहित देखिएका छन्। चाडपर्वको बेला यस्तो सहुलियतले आर्थिक भार कम भएको भन्दै उपभोक्ताले कम्पनीप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया