पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

Jhalkonepal

काठमाडौं, असार ७   

 नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालका विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी उनको योगदानको सम्झना गर्दैछन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जलि सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा तत्कालीन निरंकुश जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००६ मा कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना तथा मुलुकको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेको योगदान, त्याग र निष्ठाको आदर्शलाई समेटेर तयार गरिएको उनको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ ।

यस्तै, विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि कम्युनिष्ट पार्टीले गरेको सङ्घर्ष तथा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा पार्टीले निर्वाह गरेको भूमिकाबारे जानकारी गराइने जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

प्रतिक्रिया