काठमाण्डौ, कार्तिक २३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि झण्डै पाँच महिना दैनिक
१० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का अनुसार
विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि दैनिक १० घण्टा उडान बन्द गरेर काम गर्न
लागिएको हो ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले
विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र
विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायतको विस्तार गर्नेछ । यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ
खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान आठ
बजेसम्मका सबै उडान कटौती हुनेछन् । अहिले विमानस्थल बिहान छ बजे खुलेर राति दुई
बजेसम्म सञ्चालन हुँदै आएको छ ।
नेपालमा अहिले तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय
विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् ।
२२ कार्तिक २०८१, शुक्रबार ०७:५५ मा प्रकाशित