वीरगन्जको बाल सुधार गृहको तनाव अझै साम्य भएन

Jhalkonepal

वीरगन्ज , भदौ २७ 

वीरगन्जको वीर्तास्थित बाल सुधार गृहको अवस्था हिजो रातीदेखि हालसम्म पनि तनावपूर्ण रहेको छ। सुधारगृह भित्रबाट बाहिर रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार भइ नै रहेको प्रहरीले जनाएको छ। केहीबेर अगाडि प्रहरीले केही सेल अश्रु ग्याँस प्रहार गरेको जनाएको छ ।  सुधार गृहमा रहेका बालकबीच झडप हुँदा ११ जना बालक घाइते भएका छन भने तीन जना प्रहरी समेत घाइते भएको जनाइएको छ । वीरगन्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ पहिलेदेखि बस्दै आएका बालकहरुबीच मंगलबार राति विवाद भइ झडप हुँदा सुधारगृह रातीदेखि नै तनावग्रस्त रहेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभएको छ । घाइते भएका सुधार गृहका ११ जना बालकलाई गए राति नारायणी अस्पतालमा उपचार गराइ जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको उउहाले बताउनुभयो ।  


प्रहरी उपरीक्षक शाहका अनुसार भक्तपुरको बाल सुधार गृहमा भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएका मध्ये १८ जना बालकहरुलाई वीरगन्जको बालसुधार गृहमा ल्याएर राखिएको थियो। यहाँ पहिलेदेखि १ सय ३१ जना बालक थिए।  सुधार गृहमा अहिले कूल १सय ४९ जना बालकहरु रहेका गृह प्रमुख टिका काफ्लेले जानकारी दिएका छन ।  

भक्तपुरबाट ल्याएर राखिएका बालकहरुले मंगलबार बेलुकी सुधार गहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि त्यही विषयमा विवाद भइ झडप भएको हो। त्यस क्रममा उनीहरुले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा सुधार गृहमा पुगेको थियो।  

सुधार गृहमा हिजो रातिदेखि प्रदर्शन गरिरहेका बालकहरुले भने सुधारगृहमा आफूहरुलाई खाना राम्रो नदिएको , घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने गरिएको , एउटै कोठामा धेरै जनालाई कोचेर राखिएको , शौचालय पनि राम्रो नभएको , सुधार गृह प्रमुखले यातना दिंदै आएको जस्ता आरोप पनि लगाएका छन्।


प्रतिक्रिया