काठमाडौँ, साउन ३
प्रशान्त महासागरको मध्यभागमा अवस्थित
टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले
कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ । न्युयोर्कस्थित
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध
स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज
उक्त नियोगमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि
नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका
स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गर्नुभयो । साथै दुवै देशका
राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसङ्घका
महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा
दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुुलुकका विकासका विषय, संयुक्त
राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी
गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गर्नुभएको उक्त
नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बेलायतको
उपनिवेशबाट १२ जुलाई १९७९ मा स्वतन्त्र भएको किरीबासको जनसङ्ख्या एक लाख २० हजार छ
भने यो टापु राष्ट्र १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएको हो ।
नेपाल र किरीबास जि–७७ र चीन तथा अल्पविकसित राष्ट्रहरूको समूहका सदस्य हुन् ।