काठमाडौं, वैशाख १३
वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मौन अवधि सुरू हुदैछ ।
निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।मौन अवधिमा चुनाव प्रचार प्रसार गर्न निषेध गरिएको हुन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस्, कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन्, मतदातालाई दबाव र प्रभावविना स्वतन्त्र ढंगले मतदान गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । शान्त वातावरणमा निर्वाचन गर्न र उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ ।
निर्वाचन आयोगका अनुसार मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न र उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार गर्न पाइँने छैन ।