काठमाडाैं , असार २
पशुपति क्षेत्र विकास कोषले काठमाण्डौको तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने भएकाे छ । तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएपनि अहिलेसम्म घर जग्गा खाली नगर्नेका लागि कोषले १५ दिने सूचना जारी गरेको जनाइएकाे छ ।
काठमाण्डौ महानगरपालिका वडा–८ तिलगंगा (बी १३) आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाललगायतका संरचना भत्काई लैजान कोषले १५ दिने सूचना निकालेको हो । तोकिएको अवधिभित्र ती संरचना नहटाए कानुन अनुसार कोष आफैँले हटाई खाली गराउने सूचनामा उल्लेख छ ।
पशुपति क्षेत्र विकास कोषको स्वीकृत गुरुयोजना अनुसार सरकारले २०६९ भदौ ६ गते तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाललगायतका संरचना स्थायी रूपले अधिग्रहण गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार २०७१ सालमा अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको कोषले जनाएको छ ।