संघीय संसदका दुवै सदनको बैठक बस्दै

Jhalkonepal

काठमाण्डाै, जेठ २०


संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने छ ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२-८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । 

त्यस्तै, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रियसभाको बैठकमा पनि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएका संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत बैठकमा पेस हुने कार्यसूची छ ।

 

प्रतिक्रिया