सुदूरपश्चिममा छैंटौ सरकार संकेत !

Jhalkonepal

धनगढी, बैशाख २४

सुदूरपश्चिममा दुई कार्यकालमा पाँचवटा सरकार बनिसकेका छन्। छैटौ सरकार बन्ने संकेत पनि देखा परेको छ। पहिलो कार्यकाल पुरा भएर दोस्रो कार्यकाल सुरु भएयता सरकार बनाउने र गिराउने खेल जारी छ। केन्द्रमा सत्ता फेलबदल हुने वित्तिकै प्रदेशमा झन उथलपुथल मच्चिने गरेको छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन झिकेपछि कांग्रेसका कमलबहादुर शाहको सरकार १० महिना नपुग्दै ढलेपछि एमाले, माओवादी, एक जना स्वतन्त्र सांसद र नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ पक्षीय) सांसदको समर्थनमा बैशाख ६ गते एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रदेश सरकार बनेको दुुई कार्यकालमा सुदूरपश्चिममा पाँचवटा सरकार बनिसकेका छन्। पहिलो प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्र एक भएर चुनाव लडेका थिए। २०७४ फागुन ११ गते माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए। 

पहिलो कार्यकालमा सरकार त्यति धेरै परिवर्तन नभए पनि दोस्रो कार्यकालमा भने सरकार अस्थिर बन्न पुगेको हो। २०७९ मंसिर ४ को चुनावपछि पहिलो सरकार नेकपा एमाले र माओवादीको गठबन्धन बनेको थियो। एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए। तर, निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि उनको सरकार एक महिनामै ढल्न पुगेको हो।

त्यसपछि ठूलो दलको हैसियतमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए। त्यतिबेला एमाले माओवादीको गठबन्धन भत्किसकेको थियो। कांग्रेस–माओवादी गठबन्धनको सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत दिएको थियो। तर शाह नेतृत्वको सरकार १० महिना नपुग्दै ढल्न पुगेको हो। त्यसपछि एकीकृत समाजवादीबाट दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका हुन्।

सोडारीले प्रदेश सभा बैठकबाट विश्वासको मत आर्जन गर्ने प्रयोजनका लागि दुई/दुई पटक प्रदेश सभा बैठक आह्वान गरिएको भए पनि स्थगित हुन पुगेको छ। सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको पार्टी एमालेले तत्काल विश्वासको मत दिन अस्वीकार गरेपछि सोडारी नेतृत्वको सरकार संकटमा छ।

सुदूरपश्चिम प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थित हुन पुगेको छ। जेठ ५ गतेभित्र मुख्यमन्त्री सोडारीले विश्वासको मत आर्जन गर्न नसकेमा सरकार ढल्नेछ। एमाले अहिलेकै अवस्थामा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने पक्षमा छैन्। मुख्यमन्त्री सोडारीले एमालेको साथ गुमाए फेरी अर्को सरकार बन्ने सुनिश्चित छ।

प्रतिक्रिया