सुर्खेत- चाडपर्वको बेला यात्रुलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै रुकुम पश्चिममा १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला प्रहरी कार्यालयको सहकार्यमा यात्रुहरूको चाप बढी हुने स्थानहरूमा सहायता कक्ष सञ्चालनमा ल्याएको हो। ट्राफिक प्रहरी प्रमुख, प्रहरी सहायक निरीक्षक शैलेन्द्र कुमार मल्लका अनुसार चाडपर्वमा सवारी साधन र यात्रुको चाप उच्च हुने भएकाले सहायता कक्षमार्फत आवश्यक सेवा र जानकारी प्रदान गरिनेछ।
मुसिकोट नगरपालिकाको खलङ्गा, सेरीगाउँ, शीतलपोखरी, साँख, छिनखेत र सोलाबाङः सानीभेरी गाउँपालिकाको सिम्लीः चौरजहारी नगरपालिकाको बसपार्कः आठबिसकोट नगरपालिकाको राडी र त्रिवेणी गाउँपालिकाको झुल्नेटामा सहायता कक्ष स्थापना गरिएको हो।
मल्लका अनुसार चाडपर्वको समयमा दोहोरो टिकट, बढी भाडा, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा हुने दुर्घटनाको जोखिम जस्ता समस्यालाई न्यूनीकरण गर्न सहायता कक्ष स्थापना गरिएको हो।
साथै, प्रहरीले राप्ती राजमार्ग, मध्यपहाडी राजमार्ग, भेरी करिडोरसहित ग्रामिण सडकमा चल्ने सवारी साधनमा निगरानी र अनुगमन पनि कडा बनाएको जनाएको छ।