आज छठ पर्वको दोस्रो दिन खरना मनाइँदै

Jhalkonepal

काठमाण्डाै , कार्तिक २१

 आज छठ पर्वको दोस्रो दिन बर्तालुहरू ‘खरना’ विधिको तयारीमा छन् ।

छठको पहिलो दिन हिजो ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कात्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ । श्रद्धा, निष्ठा, समर्पणभाव  र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अरु सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।

आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्छन् । पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।

प्रतिक्रिया