काठमाडौं, असार १६
आज संसद् दिवस । अर्थात् देशमा
पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन ।
मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको
२०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार
१६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो । मुलुकमा संसद्को
पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने
गरिएको छ । संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था
पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् । पहिलो संसद्ले २०१६
असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित
गरेको थियो । उहाँ २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील
हुनुहुन्थ्यो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती
व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो । देशको संसदीय
इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन । पहिलो संसद्को निर्वाचन भएको छ दशकभन्दा
बढी भएको छ । बलियो संसद् लोकतन्त्रको आधारशीला भएको बताउँदै राजनीतिक
विश्लेषकहरूले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने बताएका छन् ।
उनीहरूका अनुसार लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र
समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो ।