एनसेलको शेयर खरिद बिक्री नगर्ने, अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

Jhalkonepal

काठमाडौं , माघ

     एनसेलको पछिल्लो शेयर खरिद बिक्री उच्च अदालत पाटनले बिक्री भएको सेयर दर्ता नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीशहरु शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले कानूनी व्यवस्थाको परिपालना र स्वामित्व परिवर्तनको विषय देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

उच्च अदालत पाटनले रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म अन्तरिम आदेशले निरन्तरता पाउने भनेको छ । उच्च अदालतले संवेदनशील विषयवस्तु रहेको भन्दै मुद्दालाई अग्राधिकारमा राख्न आदेश समेत दिएको छ ।

'नेपाल दूरसञ्चार प्राधिकरणले आजियटाका नाउँमा दूरसंचार नियमावली बमोजिम शेयर खरिद बिक्री गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्न भनी पत्राचार गरेको मिसिल संलग्न पत्रबाट देखिएको समेतको परिप्रक्ष्यमा सो समेतको निराकरण हुने गरी मंसिर २५ सम्मको लागि खरिद बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नू/ नगराउनू भनी विपक्षीहरूका नाउँमा यो अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ,' आदेशमा भनिएको छ।

यो आदेशलाई निरन्तरता दिने कि नदिने सम्बन्धमा २५ गते दुवै पक्षको बहस हुने आदेशमा उल्लेख छ। दुवै पक्षको बहस सुनेपछि एनसेलको खरिद बिक्री रोक्ने कि नरोक्ने भनेर अदालतले अर्को आदेश गर्नेछ।

यो सम्बन्धमा कुनै निर्णय भएको भए निर्णय लिएर आउन पनि अदालतले भनेको छ।

 

प्रतिक्रिया