चितवन- चितवनमा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। साउनयता संक्रमित भएका १६ जनामध्ये पाँच जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
पछिल्लो मृत्यु भदौ २३ गते राप्ती नगरपालिका–१२ की ४२ वर्षीया महिलाको भएको कार्यालयका प्रमुख डा. दिनेश रुपाखेतीले जानकारी दिए । यसअघि भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय पुरुष, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया महिला, र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया महिला गरी चार जनाको मृत्यु भइसकेको छ।
गत आर्थिक वर्षमा जिल्लामा तीन जनामा संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको थियो।
जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका, राप्ती, खैरहनी र माडी नगरपालिका क्षेत्रका मानिसमा देखिएको छ। यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। विशेषगरी सुँगुर, हाँस, बङ्गुरजस्ता जनावरमा रहेको भाइरस लामखुट्टेबाट मानिसमा सर्ने गर्दछ।
यो लामखुट्टे प्रायः साँझ र बिहान बढी सक्रिय हुने, घरबाहिर बस्न रुचाउँने र धानखेतीको फाटमा अण्डा पार्ने भएकोले सचेत रहन डा रुपाखेतीको भनाइ छ ।