सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले १२ दिनपछि पुनः सेवा सुरु गरेको छ। गत भदौ २४ गते जेन–जी आन्दोलनकारीहरूले नगरपालिकासहित १२ वटा वडा कार्यालयमा आगजनी र तोडफोड गरेपछि वडा कार्यालयहरूको सेवा ठप्प भएको थियो।
आइतबारदेखि सबै वडाहरूको सेवा वीरेन्द्रनगर नगरपालिकाको कार्यालयबाटै सञ्चालन हुन थालेको छ। वडा कार्यालयको पुनर्निर्माण तथा मर्मत कार्य गर्न समय लाग्ने भएकाले सेवामा अवरोध नहोस् भनी नगरपालिकाबाटै सेवा प्रवाह गरिएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन ।
उनले भनिन्, “वडा कार्यालयहरू निर्माण गर्न समय लाग्छ र सबै कागजातहरू जलेर नष्ट भएका छन्, त्यसैले अहिले नगरपालिकाका केही कोठा र जिल्ला समन्वय समितिका कोठाहरू भाडामा लिएर सेवा दिइँदैछ।”
जेन–जी आन्दोलनका क्रममा नगरपालिकाका कार्यालय, फर्निचर, इलेक्ट्रोनिक उपकरण र सवारीसाधनमा करिब २ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। वडा कार्यालयहरू पूर्ण रूपमा ध्वस्त भएका कारण दैनिक रूपमा हुने जन्म–मृत्यु दर्ता, नागरिकता सिफारिस, कर संकलन लगायतका सेवा प्रभावित भएका नगरप्रमुखको भनाइ छ ।
वडा कार्यालयहरूको क्षतिको मुल्याङ्कन भइरहेको छ र कुल क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ। जिन्सी शाखा प्रमुख खड्कबहादुर केसीले जानकारी दिए ।
“सिटी हल सहित नगरपालिकाका कार्यालय र वडा कार्यालयहरूमा ठूलो क्षति भएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।”