काठमाडौँ, १ कात्तिक:
नवरात्रको चौथो दिन आज दसँैघरसहित पूजाकोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । घटस्थापना गरेसँगै देवीका नौ रुपहरुको पूजा गर्ने परम्पराअनुुसार आज कुष्माण्डा देवीको पूजा गर्न लागिएको हो । दसैँ सुरु भएदेखि सबै देवीका मन्दिरमा पूजा गर्नेहरुको आज पनि भीड लागेको छ ।
काठमाडौँ उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, इन्द्रायणीलगायत मन्दिरहरुमा पूजा आज गर्नेहरुको बिहानैदेखि चहलपहल सुरु भएको छ । उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरीलगायत शक्तिपीठहरुमा पनि भक्तजनहरुको घुइँचो लागेको बताइएको छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आरााधना गर्ने गदर्छन् ।
३० असोज २०८०, बुधबार ०२:३२ मा प्रकाशित