सुनसरी- विजया दशमी २०८२ को अवसरमा पनि सुनसरी जिल्ला अदालतले आवश्यक न्यायिक सेवा निरन्तर उपलब्ध गराउने व्यवस्था गरेको छ। अदालतले असोज ६ गतेदेखि असोज २० गतेसम्म नियमित कामकाज बन्द रहने जनाए पनि अत्यावश्यक कानुनी कार्य भने जारी रहने स्पष्ट पारेको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ अनुसार, पक्राउ पुर्जी जारी गर्ने, अनुमती प्रदान गर्ने, र गैरकानुनी थुनामा रहेका बन्दीहरूको हकमा दायर गरिने बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सुनुवाइ जस्ता काम नियमित रूपमा हुनेछन्।
अदालतका उप–सचिव टिकेन्द्रवीर जङ्ग राणाका अनुसार, दशैंजस्तो महत्वपूर्ण पर्वको बेला अदालत पूर्ण रूपमा बन्द हुँदा थुनामा रहेका अभियुक्तहरूको मौलिक हक प्रभावित नहोस् भनेर यो विशेष व्यवस्था गरिएको हो।
उक्त अवधिमा शनिबार, घटस्थापना, विजयादशमी र कोजागत पूर्णिमाका दिनबाहेक अदालत हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ। सार्वजनिक सूचना जारी गर्दै अदालतले आवश्यकता अनुसार सेवा लिनुपर्ने पक्षलाई तोकिएको समयमा उपस्थित हुन आग्रह पनि गरेको छ।
यसअघि पनि ठूला चाडपर्वका अवसरमा जिल्ला अदालतहरूले यस्तै व्यवस्था गर्दै आएका थिए।