नयाँ दिल्ली, बैशाख २८
नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको सर्वोच्च अदालतले अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको छ ।
भ्रष्टाचार आरोपमा पक्राउ परेका उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । केजरीवालले जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुनु पर्नेछ ।
सत्तारुढ भारतीय जनता पार्टिका कटु आलोचक केजरीवाललाई भारतमा जारी लोक सभाको चुनाव शुरु हुनु अघि पक्राउ गरिएको थियो । मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी का नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा बन्द थिए । उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय मिडियाहरुले जनाएका छन ।
सात चरणमा भइरहेको लोक सभाको चुनाव आगामी जुन एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । जेलमुक्त भए पनि उनलाई कार्यालयमा गएर काम गर्न भने अनुमति दिइएको छैन ।
भारतमा लोक सभाको सात चरणको चुनावमध्ये तीन चरणको चुनाव सकिइसकेको छ । नयाँदिल्लीमा यही मे २५ तारिखमा चुनाव छ ।
न्यायाधिश सन्जीव खन्नाले पाँच वर्षमा एकपटक हुने चुनावमा भोट हाल्न पाउनु र चुनाव प्रचार गर्न पाउनु मौलिक अधिकार भएको भन्दै केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएका थिए ।