भरतपुर, असार २९
चितवनमा भएको बस दुर्घटनमा बेपत्ता
भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । उनीहरुले
बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन् । चितवनको भरतपुर
महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको
पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए । हजुरबुबा दुर्घटनामा
परेपछि शुक्रबार चितवन आउनुभएका रौतहटको गौरका विकेशकुमार पटेलले दुर्घटनापछि
परिवार र गाउँनै शोकमा डुबेको बताउनुभयो । “बिहानै दुर्घटनाको खबर पायौँ, खोजी गर्न भोकभोकै
नदी किनारमा बसेका छौँ”, उहाँले भन्नुभयो । आफ्ना भिनाजु दुर्घटनामा परेपछि
रौतहटका रमेशकुमार पटेल पनि शुक्रबारनै चितवन आउनुभएको छ । आफन्तसहित एम्बुलेन्स
रिजर्भ गरेर आएको उहाँले बताउनुभयो । शुक्रबार रातिसम्म कोही पनि फेला नपर्दा
जीवितै भेट्टाउने आश मारिसकेको उहाँको भनाइ छ । पटेलले भन्नुभयो, “शव फेला परे
लैजान्थ्यौँ । अरु त केही आश छैन ।” बाराको परसौनी गाउँपालिकाका अध्यक्ष
विनोदप्रसाद जैसवालले बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो गर्नुभयो । आफ्ना दुई
छिमेकी बसमा रहेको थाहा पाएपछि घटनास्थलमा आउनुभएका उहाँले हेलिकप्टर र जहाज
दुर्घटना हुँदा सबै संयन्त्र प्रयोग गर्ने राज्यले बस दुर्घटना हुँदा खासै वास्ता
नगरेको गुनासो गर्नुभयो । पचासभन्दा बढी परिवार पीडामा रहेको भन्दै उहाँले राज्यका
सबै संयन्त्र परिचालन गर्न अनुरोध गर्नुभयो । चितवनका प्रमुख
जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र
नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खटिएको बताउनुभयो । “नदीमा पानीको
बहाव घटेको छैन । राति जोखिम हुने भएकाले खोजीकार्य स्थगन गरेका हौँ, आज बिहानैदेखि पुनः
खोजीकार्य अघि बढाएका छौँ”, उहाँले भन्नुभयो । यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको
एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ । शुक्रबार भेटिएका
कपडालाई आधार बनाएर आज खोजबिन गरिने प्रजिअ यादवले बताउनुभयो । भरतपुर
महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ
जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट
गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको
पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका
थिए ।