चितवन- मनकामना मन्दिर जान प्रयोग हुने केबलकार सेवा असोज १५ गते (आज) देखि अस्थायी रूपमा बन्द गरिएको छ। नियमित मर्मत तथा परीक्षण कार्यका कारण सेवा तीन दिनका लागि स्थगित गरिएको हो।
मनकामना केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनका अनुसार असोज १५ देखि १७ गतेसम्म सेवा बन्द रहनेछ। असोज १८ गतेदेखि भने पुनः नियमितरूपमा सञ्चालनमा आउने जानकारी उनले दिए।
गोरखा जिल्लाको सहिद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध मनकामना माई मन्दिरमा दर्शनार्थीलाई सहज पहुँच दिन यो केबलकार सेवा सञ्चालनमा ल्याइएको हो। नेपालकै पहिलो केबलकार सेवा मानिने मनकामना केबलकार पर्यटक र भक्तजनका लागि अत्यन्त लोकप्रिय माध्यम हो।
१४ असोज २०८२, बुधबार ११:०५ मा प्रकाशित