झापा- झापाको बिर्तामोड नगरपालिका-२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा एक युवक मृत फेला परेका छन्।
बिर्तामोड-३ का ३३ वर्षीय प्रकाश प्रसाईँ शुक्रबार स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न दिउँसो ३ बजे पार्कमा पुगेका थिए। पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको भनेर पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई राति ८ बजे खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाको थप विवरण र डुब्नुको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
१३ भदौ २०८२, शनिवार ०९:२० मा प्रकाशित