सल्यान- सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आइतबार बिहान भएको जिप दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। राप्ती राजमार्ग अन्तर्गत लु २ ख ६५०२ नम्बरको फोर्स गाडी सडकबाट झन्डै ४ सय मिटर तल खसेपछि दुर्घटना भएको हो।
ज्यान गुमाउनेमा रुकुम पश्चिम बाफीकोट गाउँपालिका–५ का २५ वर्षीय प्रकाश केसी, ६८ वर्षीया पबी केसी र २७ वर्षीय शशीधर केसी रहेका छन्।
दुर्घटनामा घाइते हुनेमा सोही स्थानका ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि पठाइएको छ।
उक्त गाडी रुकुम पश्चिमको बाफीकोटबाट दाङको घोराहीतर्फ जाँदै थियो। बिहान करिब ४ बजे दुर्घटना भएको जनाइएको छ। गाडीमा तीन पुरुष र दुई महिला गरी पाँच जना सवार थिए।
प्रहरी र स्थानीयबासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
११ असोज २०८२, आईतबार ११:०८ मा प्रकाशित