आज किरात समुदायले उधौली पर्व मनाउँदै

Jhalkonepal

काठमाडौं, मंसिर ३० 

आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।

उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् ।

किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।

किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।

भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय भेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइन्छ ।


प्रतिक्रिया