शिक्षक आन्दोलन: आज सातौं दिन शिक्षकले टर्च बालेर गरे प्रदर्शन

Jhalkonepal

काठमाडौं, चैत २६

 देशभरका शिक्षकहरूले आज   काठमाण्डौको माइती घर मण्डलाबाट बानेश्वर तर्फ टर्च बालेर प्रदर्शन गरेका छन् । चैत २० गते देखि सडक आन्दोलन शुरु गरेका शिक्षकहरूले सिठ्ठी फुकेर, मास्क लगाएर सांकेतिक प्रदर्शन गरिरहेका छन् ।

 नेपाल शिक्षक महासंघ केन्द्रीय कार्य समितिको आव्हानमा विभिन्न शैक्षिक एवं पेशागत समस्याको आवाज उठाएर दबाबमूलक कार्यक्रम सुरू गरिएको सोलुखुम्बु शिक्षक महासंघका अध्यक्ष जनक थापाले बताउनुभयो ।


देशभरबाट आएका शिक्षकहरु आन्दोलनमा होमिएका छन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजी गर्दै उनीहरूले ‘शिक्षकलाई ढाँट्न पाइँदैन’, ‘संसद् अधिवेशन चालु गर’, ‘शिक्षा ऐन जारी गर’जस्ता माग राखेका छन् ।

शिक्षक महासंघको नेतृत्वमा आयोजना भइरहेको आन्दोलनमा दिन प्रतिदिन शिक्षक कर्मचारीको सहभागिता बढिरहेको महासंघले  जनाएको छ । 

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गरिएको महासंघले बताएकाे छ । २०२८ कै पञ्चायत कालकै ऐनमा शासित हुनुपरेको भन्दै नयाँ युगअनुसारको कानून खोजेको उनीहरूको भनाइ छ ।

शिक्षकहरूले सरकारसँगको विगतको सहमति अनुसार विद्यालय शिक्षक विद्यार्थी कर्मचारी मैत्री ऐन तत्काल जारी गर्नुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया