रूपन्देही , असोज २
गएराति रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच भएको झडपमा परी हेटौडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच झडप भएको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका–९ केउलानीमा दुई समूहबीच राति झडप भएको थियो। एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनीहरूबीचमा सामान्य विवाद बढ्दै जाँदा झडप भएको बुझिएको छ ।
अर्को समूहको चक्कु प्रहारबाट गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। झडपका क्रममा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएका छन्। उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभएको छ