काठमाडौँ, भदौ ११
राससले आफ्ना सेवाग्राहीको मागलाई
सम्बोधन गर्न, आफ्ना सेवाको थप विस्तार र विविधीकरण
गर्न र अन्तर्राष्ट्रिय समाचार सेवाहरुको हाराहारीमा आफूलाई उभ्याउन आजदेखि
परीक्षणका रुपमा नेपाली समाचार सेवालाई चौबिसै घण्टा विस्तार गर्ने जमर्को गरेको छ
। हाल राससले आफ्नो सेवा १७ घण्टा उपलब्ध गराउँदै आएको थियो ।
सगरमाथा संवाद समिति र नेपाल संवाद
समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय
समाचार समिति (रासस) हो । जनताको करबाट सञ्चालित देशको एक मात्र समाचार समिति रासस आफ्नो
स्थापनाको समयदेखि नै देश तथा जनताको सुसूचित हुने आवश्यकता र अधिकारलाई दृष्टिगत
गर्दै आफ्ना सेवाहरु प्रकाशन/प्रशारण गर्दै आइरहेको छ । देशको ‘न्यूज बैंक’ र ‘मिडियाको पनि
मिडिया’ का रुपमा राससले सञ्चारमाध्यमको माग र आवश्यकतालाई आफ्ना विविध
सेवाका माध्यमबाट सम्बोधन गर्ने प्रयत्न निरन्तर गर्दै आइरहेको छ । नेपाली, अङ्ग्रेजी र अन्तराष्ट्रिय समाचार
बुलेटिनका अलावा पछिल्लो दिनमा राससले आफ्ना सेवालाई विविधिकृत गर्दै तस्वीर, श्रव्य, श्रव्य–दृश्य, विचार तथा आलेख सेवा प्रवाह गरिरहेको छ । यस्तै राससले नेपालको
संविधान २०७२ को मर्मअनुसार संघीयता र समावेशी अवधारणालाई आत्मसात गर्दै गत
वर्षदेखि अवधी भषाको माध्यमबाट मातृभाषामा पनि समाचार सेवा उपलब्ध गराउँदै आएको छ
। आज समाचारका
पाठक–दर्शकमात्र होइन, नेपाली सञ्चारमाध्यम पनि विश्वभर
फैलिएका छन् । सूचना प्रविधिको विकाससँगै नागरिकले हरेक सूचना र समाचार छिटो
हेर्न र पढ्न रुचाउँछन् । अति व्यस्त दैनिकीका कारण आमपाठक/दर्शकले समाचारका लागि निश्चित समय
कुर्न सक्ने अवस्था नभएकाले पनि सञ्चारमाध्यमहरूलाई पहिलेजस्तो समाचार सम्प्रेषणमा
‘डेडलाइन’ तोकेर काम गर्न चुनौती आइसकेको छ । यही आवश्यकता र समयको मागअनुसार
राससले आजदेखि परीक्षणका रूपमा चौबिसै घन्टा नेपाली समाचार सेवा सुरु गर्दैछ ।