जनकपुरधाम - मधेश प्रदेश सरकारले लगानी सम्मेलनको तयारी तीव्र पारेको छ। प्रदेशको आर्थिक समृद्धि र विकासका लक्ष्यसहित जनकपुरधाममा बिहीबार विशेष छलफल गरिएको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न छलफलमा उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, प्रदेश योजना आयोगका सदस्य राजकुमार सिंह, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक बैधलगायतको उपस्थिति रहेको थियो।
छलफलमा सम्मेलनको उद्देश्यबारे जानकारी दिँदै सल्लाहकार बैधले प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतहरूको परिचय गराउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्य लिएको बताए। साथै, सहकार्य र साझेदारीको माध्यमबाट रोजगारी सिर्जना गर्दै प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी गन्तव्यको रूपमा स्थापित गर्ने योजना रहेको उल्लेख गरे।
प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी अवसरहरू प्रस्तुत गर्ने तयारी गरिरहेको छ। सम्मेलनपछि प्रदेशमा आन्तरिक तथा बाह्य लगानी भित्रिने, धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धन हुने, र युवाहरूका लागि रोजगारी सिर्जना हुने विश्वास गरिएको छ।
प्रदेश सरकारका अनुसार सम्मेलन मधेश प्रदेशको दीगो आर्थिक विकास, सामाजिक समृद्धि र सांस्कृतिक संरक्षणका लागि एक महत्त्वपूर्ण अवसर हुनेछ।
कार्यक्रम सफल बनाउन प्रदेश सरकार, निजी क्षेत्र, संघीय सरकार र अन्तर्राष्ट्रिय विकास साझेदारबीच सहकार्यको तयारी भइरहेको छ।