बर्दिया— स्वास्थ्य बिमा गरेका बाँसगढी नगरपालिकाका बासिन्दालाई स्थानीय स्तरमै सेवा नपाउँदा उपचारका लागि बाँकेको अस्पताल धाउनु पर्ने बाध्यता कायम रहेको छ। नगरपालिकाका स्वास्थ्य संस्थामा बिमा कार्यक्रम नलागु भएकाले बिरामीहरूले सहज सेवा पाउन सकेका छैनन्।
बाँसगढी नगरपालिकामा दक्ष चिकित्सक र सुविधासम्पन्न अस्पतालको अभाव छ। यही कारणले स्थानीयहरू सामान्य चेकजाँचदेखि विशेष उपचारका लागि पनि बाँकेको वैजनाथ स्वास्थ्य केन्द्र, कोहलपुर मेडिकल कलेज वा भेरी अस्पताल, नेपालगञ्ज जानुपर्ने अवस्था छ।
हालसम्म बाँसगढीमा १९ हजार ७७८ जनाले स्वास्थ्य बिमा गरेका छन्। तीमध्ये तीन हजार ८२ जना ज्येष्ठ नागरिक छन्। स्वास्थ्य बिमा बोर्ड बर्दियाका संयोजक डिकेन्द्रबहादुर विष्टका अनुसार दुई हजार २४३ घरपरिवारले पूर्ण शुल्क तिरेर बिमा गरेका हुन्।
स्वास्थ्य शाखा प्रमुख रामेश्वर खनालले आठ वर्षपछि नगर अस्पताललाई अन्ततः स्वास्थ्य बिमा कार्यक्रमको प्रथम सेवा विन्दुमा सूचीकृत गराउन सफल भएको जानकारी दिए। उनका अनुसार सबै प्रक्रिया पूरा भइसकेको छ र तयारी पूरा भएमा अर्को महिनादेखि नगर अस्पतालमार्फत बिमा गरिएकाहरूले सेवा पाउनेछन्।
नगर अस्पताल २०७७ सालमा स्थापना भए पनि आवश्यक पूर्वाधार र जनशक्ति नपुगेकाले अहिलेसम्म बिमा सेवामा सूचीकृत हुन सकेको थिएन। तर, नगरप्रमुख खडकबहादुर खड्काले अब बाँकी प्रक्रिया र तालिम सकेपछि सेवा सुरु गरिने जानकारी दिए।
स्वास्थ्य बिमा भए पनि स्थानीय सेवामा पहुँच नहुँदा नागरिकहरू निराश छन्। अब नगर अस्पतालबाटै सेवा सुरु भएपछि उनीहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।