मुगु, असार २५
मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ ।
अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो । रारा नागरिक उड्यन
कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरु मुगुमै बस्न बाध्य थिए । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण
बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध हुँदै आएको थियो । “गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ । बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो”, छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताउनुभयो ।
२५ असार २०८१, मङ्गलबार ०३:१४ मा प्रकाशित