काठमाडौँ, असार ६
नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी
रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा उत्कृष्ट १० भित्र पर्नुभएको छ ।
उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत
गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट १० मा पर्नुभएका थापा
अहिले उत्कृष्ट पाँच सेफका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।
नेपालको पाँचतारे
सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा काम गर्दै आउनुभएका तनहुँका
थापा हाल बेलायतमा बस्दै आउनुभएको छ । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना
गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो । प्रतियोगिताले
पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरूबीच खानपान जीवनशैलीबारे
रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ ।
झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा
छनोट हुनुभएका थापा खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने
बताउनुहुन्छ । “नेपालीको माया, साथ र भरोसाले अहिलेको अवस्थामा आइपुगेको छु, प्रतिस्पर्धामा
उत्कृष्ट पाँचमा पुग्नका लागि मलाई अझै धेरै भोट र हौसला जरुरी छ”, काठमाडौँमा रहनु भएका
थापाले भन्नुभयो ।
विश्वभरका ८९ मा
सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा
उत्रिनुभएको छ । यो प्रतियोगितामा विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’
म्यागेजिनको कभर स्टोरीमा समेटिने छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ
विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ ।
बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७
वर्ष विदेशमा एसियाली खान्कीहरूमा समय बिताइसक्नुभएका थापाले सन् २०१० मा
प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जित्नुभएको थियो । चार दशकदेखि सेफ पेसामा
कार्यरत सेफ थापाले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी
यसको विकासमा योगदान पुर्याउनुभएको छ । नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य थापा
हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्षसमेत हुनुहुन्छ ।