काठमाडौँ, असार ९
संस्कृति, पर्यटन तथा नागरिक
उड्डयन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेयले नेपाल वायुसेवा निगमको सेवालाई
चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
सचिव पाण्डेयले आज निगम केन्द्रीय
कार्यालय निरीक्षणका क्रममा इमान्दारपूर्वक नतिजामुखी काममा लाग्न आग्रह गर्नुभएको
हो । सबैले इमान्दारिताका साथ काम गरे मात्र निगमले प्रगति गर्न सक्ने
विश्वास व्यक्त गर्दै सचिव पाण्डेयले मन्त्रालयबाट गर्नुपर्ने कार्यमा आफूबाट सधैँ
सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले निगमका हरेक विभागले
गर्नुपर्ने नियमित कार्यमा ढिलासुस्ती नगर्न र जनतालाई नतिजा
महसुस हुनेगरी काम गर्न निर्देशन दिनुभयो ।
त्यसक्रममा निगमका कार्यकारी अध्यक्ष
युवराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी
गराउनुभयो । उहाँले निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरण मर्मतसम्भारमा लाग्ने
पाटपुर्जा र निगमको विमानमा प्रयोग हुने खाद्य सामग्रीमा भन्सार छुट सुविधा उपलब्ध
गराउन, हवाई इन्धनमा लगाइएको कर छुट गर्नेतर्फ पहल गरिदिन आग्रह गर्नुभयो
। त्यसअवसरमा निगम, बजार व्यवस्थापन विभागका निर्देशक टङ्कनिधि दाहाल, मानव संशाधन विभागका
निर्देशक अशोक सिग्देल, संस्थागत विभागका निर्देशक अनिल घिमिरे र क्वालिटि एस्योरेन्स
विभागका निर्देशक पोषक ज्ञवालीले विभागीय प्रस्तुतीकरण गर्नुभएकोे निगमका प्रवक्ता
रमेश पौडेललले जानकारी दिनुभयो ।