एजेन्सी । राज्यको गोप्य सूचनाको दुरूपयोग सम्बन्धी‘साइफर मुद्दा’ मा पूर्वपाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई अदालतले १० वर्ष जेल सजाय सुनाएको छ।
पाकिस्तानीको विशेष अदालतले पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको समाचार संस्था द डनले जनाएको छ। खान र कुरेसीले राज्यको गोप्य सूचनाको दुरूपयोग गरी चुहाएको आरोप छ। उक्त कागजातमा अमेरिकाले खानलाई प्रधानमन्त्रीबाट हटाउन धम्की दिइएको समाचार संस्था डनले जनाएको छ।
अमेरिकाले पठाएको उक्त साइफर खान अध्यक्ष रहेको पाकिस्तानी तहरिक(इ(इन्साफले फिर्ता नगरेको उल्लेख छ। अदालतले उनीसँग यसबारे बयान समेत लिएको छ। बयानपछि पनि इजलासले खानसँग साइफरबारे सोधेको थियो, तर उनले आफूलाई जानकारी नभएको बताएपछि १० वर्षको जेल सजाय सुनाएको हो।
बिबिसीका अनुसार सन् २०२२ मार्चमा उनी एक र्यालीमा सहभागी भएका थिए। प्रधानमन्त्री हुँदा अविश्वासको मत पाउनु अघिको उक्त र्यालीको मञ्चमा उभिएर एउटा कागज देखाउँदै उनले विदेशीले षड्यन्त्र गरी हटाउन खोजेको बताएका थिए।
फेब्रुअरी ९मा पाकिस्तानमा आम निर्वाचन छ। जसमा पिटिआइ पनि सहभागी छ। त्यसको ९ दिनअघिमात्रै अदालतले फैसला गरेको हो।
इमरान खान र कुरेसी अडियाला जेलमै छन्। जेलभित्रैबाट उनीहरू दुबै जनाले चुनाव लड्ने प्रयास गरिसकेका थिए। कुरेसीलाई थारपरकार जिल्लाबाट चुनाव लड्न अनुमति पनि दिइएको थियो। तर मंगलबारको फैसलापछि अब दुबै जनाले निर्वाचन लड्न नपाउने भएका हुन्।
यसअघि इस्लामावादको उच्च अदालतले इमरान खानलाई तोशाखाना मुद्दामा पनि तीन वर्ष जेल सजाय सुनाएको छ।