नवलपरासी, असार २३
नारायणी नदीमा पानीको सतह निरन्तर
बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी
(बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध
(ब्यारेज)का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका
बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका
खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी
दिनुभयो । गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका
खोलिएको उहाँले बताउनुभयो । आज बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार
लाख ४० हजार सात सय ५० क्युसेक मापन गरिएको अधिकृत हरिजनले बताउनुभयो । नदीमा शनिबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ । अधिकृत
हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो । त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा छ । गण्डक
ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको अधिकृत
हरिजनले जानकारी दिनुभयो । गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता
नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव ६ लाख
क्युसेकसम्म धान्न सक्ने बताइएको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा
छ । पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को
दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ । दाउन्ने पहाडको विश्वकर्मा मन्दिर
नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकारी
एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।