काठमाडौँ, मङ्सिर ७
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ ।
विद्युत् निर्यात गत आव २०७९÷८० को सोही अवधिको तुलनामा रु चार अर्ब ८६ करोड ४४ लाखले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी रु सात अर्ब ६३ करोड ६४ लाख आर्जन गरिएको थियो ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा एक अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी रु १४ अर्ब ५० करोड २१ लाख आर्जन भएको छ ।
प्राधिकरणले साउनमा रु दुई अर्ब १४ करोड ७६ लाख, भदौमा रु तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा रु चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा रु दुई अर्ब ६९ करोड ७० लाख बराबरको विद्युत् निर्यात गरेको छ ।
चार महिनाको समग्र औसत विद्युत् बिक्री दरप्रति युनिट रु नौ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट सात ७ रुपैयाँ ७६ पैसा थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट सात अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताउनुभयो ।
६ मङ्सिर २०८०, बिहिबार ०५:१५ मा प्रकाशित