काठमाडौं- लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध भएका सडकहरू क्रमशः सञ्चालनमा आउन थालेका छन्। कतिपय सडक खण्ड खुलिसकेका छन् भने केही अझै अवरुद्ध छन्।
पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडकखण्ड हाल सञ्चालनमा आइसकेको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार घोप्टेभिर र जवाङ खोलामा खसेको पहिरो हटाइएपछि यातायात पुनः सुचारु भएको हो। बुधबार राति खसेको पहिरोका कारण यो सडक अवरुद्ध भएको थियो।
यस्तै मुग्लिन–नारायणगढ सडकखण्ड भने अझै पूर्ण रूपमा अवरुद्ध छ। तुइन खोलामा खसेको ठूलो पहिरो हटाउने प्रयास जारी छ। सडक विभागका प्रवक्ता प्रभात झाका अनुसार हिजो साँझको वर्षाका कारण काम केही समय रोकिए पनि आज बिहानदेखि पुनः पहिरो पन्छाउने कार्य सुरु भएको छ। बुधबार रातिको झरीपछि नयाँ पहिरो नखसेको भए पनि अवस्थित पहिरो हटाउन अझै दुई दिन लाग्न सक्ने अनुमान गरिएको छ।
यसबीच, वैकल्पिक मार्गको रूपमा प्रयोग हुने शहिदमार्गमा भने यातायात सहज रूपमा सञ्चालनमा रहेको छ।