बिरामीले थला परेका राउटे, उपचार नमान्दा थप जोखिम

Jhalkonepal

सुर्खेत- सुर्खेतको लेकबेशी नगरपालिका–८ मा अस्थायी रूपमा बसोबास गर्दै आएको राउटे समुदायमा एकपछि अर्को गर्दै बिरामी पर्ने क्रम तीव्र बनेको छ। एक हप्ताअघि दुई जनाबाट सुरु भएको संक्रमण अहिले २५ जनामा फैलिसकेको छ।

फिरन्ते जीवन बिताउँदै आएका राउटेहरू अस्पताल गइ उपचार लिन मानिरहेका छैनन्। यही कारण बिरामीको संख्या बढ्दै जाँदा अवस्था जटिल बन्दै गएको हो।

राउटे बस्तीमा खटिएकी स्वास्थ्यकर्मी अनुजा पन्तका अनुसार बिरामीहरूलाई ज्वरो, खाना नखाने, कमजोरी तथा आलस्य हुनेजस्ता लक्षण देखिएका छन्। तर, डेङ्गुजस्ता रोगको परीक्षण गर्न भने उनीहरू तयार छैनन्।

'२५ जनाभन्दा बढी बिरामी छन्,' पन्तले भनिन्, 'तर चेकजाँच गर्न नमानेपछि हामी प्राथमिक उपचारमै सीमित छौं।'

स्वास्थ्यकर्मीहरूका अनुसार राउटेहरूको अस्वस्थ जीवनशैली, अत्यधिक मदिरा तथा सूर्तिजन्य पदार्थ सेवनका कारण उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर छ। यसले गर्दा सानोतिनो संक्रमणले पनि ठूलो असर पारिरहेको छ।

राउटे समुदाय सामान्यतया कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायतका पहाडी जिल्लाका वन क्षेत्रमा अस्थायी टहरो बनाएर घुम्ती जीवन बिताउँछन्।

प्रतिक्रिया