काठमाडौं ,असोज १८
यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै
आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम
तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै
१९ जना बेपत्ता भएका छन् भने घाइतेहरुको संख्या १६५ छ ।
बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ ।

बीपी राजमार्ग अझै
सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि
सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ ।
यसैगरी राजधानी
काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि
दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ ।
यातायातका साधन सहज
रुपमा सन्चालनका लागि वैकल्पिक सडक बनाउने र खाल्डाखुल्डी पुर्ने काम जारी छ ।
सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहेको
गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताए ।
बाढी पहिरोमा परी ४
हजार ६६७ घरहरु पूर्णरुपमा क्षति पुगेको छ । आंशिक क्षति पुगेका घरहरुको संख्या
भने ५ हजार ३१० छ । १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १०
हजार ८०७ जना विस्थापित भएका छन् ।
११ वटा जलविद्युत
आयोजना, ६ वटा सिंचाइ आयोजना, १० राजमार्ग ४४ वटा सस्पेन्सन ब्रिजमा
क्षति पुगेको छ ।
९६ वटा विद्यालय र ६६
वटा स्वास्थ्य संंस्थामा पनि बाढी पहिरोले क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ
।