कंचनपुर, असार २४
भारी बर्षाले कंचनपुर र कैलालीको जनजिवन प्रभावित भएको छ । कंचनपुरमा पछिल्लो २४ घन्टामा ५६३ मिमि बर्षा मापन गरिएको छ । अविरल वर्षाले गर्दा कंचनपुरका अधिकांश बस्ती डुवानमा परेको कंचनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिनु भयो । डुवानकै समस्याले कंचनपुरको कृष्णपुर नगरपालिका १ मा एक ७ महिने शिशुको ज्यान गएको छ । घरमा पानि पसे पछि माथिल्लो तलमा जाने क्रममा अभिभावकको हातबाट चिप्लेर बालक डुबे पछि ज्यान गएको हो ।
डुवानमा परेको परिवारलाई सुरक्षा निकाय र स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको जोशीले बताउनु भयो । वहाँका अनुसार अहिले सम्म कंचनपुर जिल्ला भरि १६२२ जनालाई सुरक्षित स्थानमा सारिएको छ । अहिले कंचनपुरमा सुरक्षा समितिको बैठक बसिरहेको छ । डुवानग्रस्त क्षेत्रमा रबर बोटको सहायताले मानिसहरुलाई उद्धार गर्ने तयारी भइरहेको छ । मानवीय क्षती नहोस भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर खोज तथा उद्धारको कार्य अघि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो ।
जिल्लाको सदरमुकाम महेन्द्रनगर बजारमा पनि पानी भरिए पछि आउजाउ गर्न समेत असजिलो भएको छ। जिल्लाका धेरै सडकहरु अवरुद्ध भएका छन । पुर्व पश्चिम राजमार्ग अन्तरगत बेदकोट नगरपालिकाको सुडा नजिक कल्भर्टलाई बाढीले बगाए पछि राजमार्गमा आवागमन बन्द भएको छ ।
महाकाली नदिमा ४ लाख क्युसेक भन्दा वढि पानीको बहाव भए पछि तटिय क्षेत्रमा उच्च सर्तकताको लागि आग्रह गरिएको छ । सहायक नदिहरुको पनि जलस्तर उच्च भएपछि बस्तीहरुमा पानि पसेको छ ।