काठमाडौं, साउन २
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका
दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू
हुँदैछ।
एक
महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज
मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई
विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल
एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल
एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई
हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य
प्रा. डा. देवमणि भट्टराई बताउँछन्। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई
चर्तुमासा भनिन्छ ।
एक
वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्।
नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय
हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र
हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।
चार महिनासम्म विधिपूर्वक पूजाआराधना
गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग
विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना
विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।