काठमाडौं, असार १४
हरेक वर्ष असार १५ गते मनाइने
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
कार्यान्वयन एकाइ चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा
रोपाइँ महोत्सव गर्न लागिएको हो । रत्ननगर नगरपालिका–७ बछौलीमा महोत्सव
मनाउने तयारी गरिएको आयोजक समितिका संयोजक एवं कृषि विभागका महानिर्देशक
नरहरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा
वृद्धि’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो । महोत्सवमा धान
रोप्ने मेसिनले एक हेक्टर क्षेत्रफलमा धान रोपिने संयोजक घिमिरेले बताउनुभयो ।
बछौली बहुउद्देशीय कृषि समूहमा आयोजना गर्न लागिएको उक्त महोत्सवमा कृषि क्षेत्रमा
आधुनिकीकरण, जलवायुमैत्री तथा जलवायु परिवर्तनसँग जुध्न सक्ने धानका जातको
बारेमा जानकारी दिइने उहाँले बताउनुभयो । संयोजक घिमिरेका अनुसार सुक्खा
क्षेत्र सहन सक्ने छ जात र डुबान सहन सक्ने दुई जातका धानको बारेमा जानकारी गराइने
छ । “अहिले मनसुन ढिला सुरु हुँदा कतै बीउ राख्ने त कतै रोपाइँ गर्ने अवस्था छ ।
धान रोपाइँमा मेसिनको प्रयोग गर्नसके कृषकलाई समयका साथै आर्थिकरुपमा खर्च कम
लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग गरेर कृषि कर्म गरे ३० प्रतिशतसम्म उत्पादन बढ्ने
छ ।” जिल्लामा अहिले पाँचवटा मेसिनबाट धान रोपाइँ हुँदै आएको छ । एक
बिघा क्षेत्रफलमा धान रोप्दा रु पाँच हजार मात्र खर्च हुने भएकाले हरेक
दृष्टिकोणबाट मेसिन फलदायी हुने संयोजक घिमिरेले बताउनुभयो । जलवायु परिवर्तनको
असरको न्यूनीकरणका लागि प्रविधिको विकास भए पनि यसको प्रयोगका बारेमा जानकारी
नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ । १४ प्रतिशत रोपाइँ सम्पन्न जिल्लामा हालसम्म
१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा
वर्षे धान खेती गरिँदै आइएको छ । पूर्वी चितवन र पश्चिम चितवनको माडी
क्षेत्रमा धान रोपाइँ भइरहेको कृषि कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले
जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो सातादेखि रोपाइँ
सुरु भएको छ भने पश्चिम क्षेत्रमा असार अन्तिम सातादेखि सुरु हुने गरेको छ । धान जोन क्षेत्रमा
करिब ८० प्रतिशत सिँचाइको व्यवस्थापन भइसकेको छ । अन्य क्षेत्रमा सिँचाइका लागि
बोरिङ जडानको काम भइरहेको जनाउँदै नहरबाट पानी लाग्ने ठाउँमा भने केही ढिला हुने
संयोजक घिमिरेले बताउनुभयो । जिल्लामा सञ्चालित धान जोन क्षेत्रमा ५० प्रतिशत
रोपाइँ सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा आठ हजार
पाँच सय हेक्टर क्षेत्रफल धान जोनका रुपमा विकास गरिएको छ ।