भैरहवा, फागुन १९
भैरहवा बहुमुखी क्याम्पस रूपन्देहीमा विद्यार्थीहरूले तोडफोड गरेका छन्।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावलाई लिएर विद्यार्थीहरू तोडफोडमा उत्रिएका हुन्।
निर्वाचनको विषयमा विद्यार्थी संगठनहरूबीच बैठक चलिरहेको बेला क्याम्पसको हलमा तोडफोड भएको क्याम्पसले जनाएको छ।
आगामी चैत ५ गते क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। त्यसैका लागि सोमबार देशभरका क्याम्पसहरूमा विद्यार्थी संगठनहरूले नाम दर्ता गरिरहेका छन्। तर, भैरहवा बहुमुखी क्याम्पसमा भने ५ विद्यार्थी संगठनहरूले आइतबार साँझ नै स्ववियु निर्वाचन कार्यकक्षमा तालाबन्दी गरेका थिए।
समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले विभिन्न माग राखी क्याम्पसमा रहेको निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका थिए।
तालाबन्दी भइरहेको अवस्थामा निर्वाचन तालिकाअनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउने भन्दै सोमबार ५ विद्यार्थी संगठनसँग बैठक बसेको थियो।
सोही क्रममा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु चुनावका लागि संगठन दर्ता गर्न बाजागाजासहित क्याम्पसमा प्रवेश गरेपछि पाँच विद्यार्थी संगठन तोडफोडमा उत्रिएका हुन्।